Saturday, December 22, 2012

पन्डित बा !

धन भेला गर या ज्ञान
के फरक पर्छ र पन्डित बा ?
न धन उस्को
न ज्ञान तिम्रो |

वेद,उपनिशद
शास्त्र,पुराण कन्ठस्थ छ |
के फरक पर्छ र पन्डित बा ?
अलिक बडी शब्द सङ्रह गर्ने सुँगा बन्नु न हो |

संसार को हिसाब गर या शास्त्रको |
के फरक पर्छ र पन्डित बा ?
दुबै ब्यपार बनेपछी|
जगत पैसा,प्रतिस्ठा
काठमाडौं, वासिङ्टनको हिसाब लाउँछ |
तिमी दक्षिणा,अध्याय,श्लोक
स्वर्ग,नर्क अनी बैकुन्ठको |
वासिङ्टन होस् या बैकुन्ठ
के फरक पर्छ र पन्डित बा ?
आखिर लोभ न हो |

हामी एकै सिक्का का दुई पाटा हौ |
दाँयाको होस् या बाँयाको
के फरक पर्छ र पन्डित बा ?
म आइन्स्टाईन,शेली साकिराको कुरा गर्छु |
तिमी बिदुर,बाल्मिकी अनी उर्बसी का कुरा गर्छौ |
आफ्नो भन्न त प्रज्ञा चाहिन्छ |

जन्जिर सुनको होस् वा फलामको,
के फरक पर्छ र पन्डित बा ?
दुबैले बांधेपछी,
बजार ले बाधोस् कि मन्दिरले |

स्याललाई बाघको खाल ओडाउदैमा,
के फरक पर्छ र पन्डित बा ?
संस्कारका लेपहरु उप्काएर
आसक्तिका जुकाहरु सल्बलाएको हेर्न त,
प्रेमको झरिमा नुहाउँन सक्नु पर्छ |

दुर्गन्ध को डङुरमा बसेर
अहङ्कारको सुइरोले स्नायु घोच्न छाड पन्डित बा |
तिम्रो नाक बेकम्मा बनेको छ |
चटकेले टाँसेको नाक जस्तो,
तिम्रा आँखा,कान बुख्याँचाका जस्ता भएका छन् |

आँखा,कान, नाक त मेरा पनी छन्
के फरक पर्छ र पन्डित बा ?
हामी आँखा,कान अनी नाक भएका
अन्धा,बहिरा र नकटा हौ |

आफुँ त बुझ पहिला आफुँलाई |
जगतलाई खै के बुझाउँछौ ?
अलिकती त सरम खाउँ न,
अझ,किन नसुने झै गर्छौ |
हँ पन्डित बा ??? ||

स्वमी ध्यान गंगा(biku)

No comments:

Post a Comment